ट्रम्पलाई टक्कर दिँदै मस्कले गठन गरे राजनीतिक दल
काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पलाई टक्कर दिँदै अमेरिकाका अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ नाम दिएको दल घोषणा गरेका हुन् ।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् यसबारे जानकारी दिएका हुन् । मक्सले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्’, उनले भनेका छन्– ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईंले त्यो पाउनुहुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन् ।’ मक्सले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए ।
मस्कले चार जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा एक्समा एउटा मत सर्वेक्षण राखेका थिए । त्यसमा उनले सोधेका थिए, ‘के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकामा नयाँ पार्टी बनाउनुपर्छ ?’ सर्वेक्षणको नतिजामा, ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ प्रतिशतले ‘होइन’ मत दिएका थिए ।