०८४ मा हुने निर्वाचनका लागि पार्टी तयार भएन- एनपी साउद
काठमाडौँ । कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् ।
ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए । साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’
उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो।’ साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए।