सरकारको विकल्प खोजेको छैन : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपतिलाई भेटेका कोइरालाले आइतबार आफू निकटका नेता र सांसदहरुसँग छलफल गरेका हुन् । आइतबार बिहान दुई चरणमा छलफल भएको उनी निकट नेताहरुले जानकारी गराएका छन् । बिहान बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा भएको छलफलमा ९ जना थिए भने र दिउँसो १२ जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । पार्टी नेताहरुका अनुसार कतिपय सांसद भने छलफलका लागि बोलाएपनि गएका थिएनन् । बिहानको भेटमा कृषिमन्त्री रामनाथ अधिकारी पनि सहभागी रहेका थिए । अधिकारीले बैठकबाट छिट्टै निस्केको जानकारी गराए । आफू निकटका नेता सांसदहरुसँग छलफल गर्न कोइरालाले सांसदहरुलाई दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बोलाएका थिए । बिहानको छलफलमा सहभागी हृदयराम थानीका अनुसार कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । कोइरालाले धारणाहरु बुझ्न आफूहरुलाई बोलाएको थानीले बताए । बैठकमा सहभागीहरुले सुशासनको पक्षमा थप सक्रिय भएर लाग्न कोइरालालाई सुझाव दिएको उनले सुनाए ।
कोइरालाले भेटघाट तीव्र बनाउँदा सरकारका विकल्प खोज्न लागिएको हो कि भन्ने आशंकाहरु पनि उठिरहेका छन् । संसदीय दलको नेता र सरकार परिवर्तनबारे कुनै कुरा नभएको थानीले दाबी गरे । उनले भने, ‘सरकारको विकल्पको खोज्ने बारे कुनै कुरा भएको छैन, खोज्नपनि हुँदैन भन्ने कुरा भएको छ, हामीहरुले पनि त्यही सुझाव दियौं । बाहिर निराधार विषयहरु आइरहेको उनले बताए । कोइराला निकटका नेता गुरुराज घिमिरेका अनुसार चरणबद्ध रुपमा छलफल भइरहेको र निरन्तर हुने जानकारी गराए । उनका अनुसार छलफलका मुख्य गरी दुई विषय छन् । पहिलो, सरकार सुशासन सरकार ठहर सहित गरिको हुँदा साँत बुँदे कार्यान्वयनमा दबाब दिने उद्देश्यले भेटघाट भइरहेको छ । दोस्रो, पार्टीमा अनुशासन समितिले एकतर्फी कारबाही गरेकाले त्यसको सामूहिक प्रतिवाद गर्नका लागि छलफल भइरहेको छ । नेता घिमिरेका अनुशासन सरकारलाई प्रभावकारी बनाउन र पार्टीभित्र सभापति शेरबहादुर देउवाको पेलान विरुद्धमा बैठकहरु भइरहेका हुन् । घिमिरे भन्छन्,‘सात बुँदेलाई यो सरकारले वास्ता गरेन । पार्टी भित्र प्रदेश सरकारदेखि नियुक्तिमा एकपक्षीय निर्णय गरिएको छ । यी सबै विषयमा दबाब बढाउन छलफल गर्न आवश्यक रहेको हो ।’ यो क्रम बढ्दै संसदीय दलको नेता परिवर्तन देखि सरकार परिवर्तनको पहलसम्म पुग्ने घिमिरे दाबी गर्छन् । त्यसका लागि आवश्यक संख्या पुर्याउनकै लागि यी संवादहरु भइरहेको घिमिरे बताउँछन् ।