विद्युतको आपूर्ति बुझ्न प्राधिकरणका निर्देशक शाक्य जनकपुर जाने

काठमाडौँ । सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् ।

चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न चितवन गएका शाक्य आज नै जनकपुर जाने र भोलि (मंगलबार) मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालय प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्राधिकरण कार्यकारी निर्देशक शाक्यले सरकारले सुख्खाग्रस्त मधेशमा बोरिङ गाड्ने घोषणा गरेपछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भने आफैँ फिल्डमा खट्न लागेको बताए । मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाउँमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५०० डीप बोरिङ जडान गर्ने घोषणा गरेका थिए । ५०० वटा डीप बोरिङका लागि कम्तीमा पनि थप १० मेगावाट विद्युत आवश्यक पर्ने भएकोले त्यसको व्यवस्था मिलाउनु पर्ने शाक्यले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *