जनकपुरमा सुविधा सम्पन्न क्यान्सर अस्पताल बन्ने

काठमाडौं । मधेश प्रदेशस्थित धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२५ मा दुई अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण हुने भएको छ। विनयतारा क्यान्सर ट्रस्टले २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ लगानीमा ‘विनयतारा क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र’ बनाउने भएको हो । कम्पनीले अस्पताल निर्माण गर्न वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । हाल २५ शय्या रहेको अस्पताललाई विस्तार गरि २०० शय्याको निर्माण हुने भएको हो । कम्पनीले स्वास्थ्य सम्बन्धी क्रियाकलाप सञ्चालन तथा अन्य सहायक सेवाहरु प्रदान गर्ने उद्देश्यसहित अस्पताल निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । कम्पनीले ३ बिघा १३ कठ्ठा ११.५ धुर क्षेत्रफलमा अस्पताल निर्माण गर्ने भएको छ । जसमा कम्पनीले न्यूनतम प्लट क्षेत्रफल ३ हजार वर्गमिटरको हुनेछ । कम्पनीले १६ प्रतिशत क्षेत्रफलमा भवन निर्माण गर्नेछ । अस्पताल भवन ४ तल्लाको हुने छ । अस्पतालको १६।८९ प्रतिशत ग्राउन्ड कभरेज क्षेत्रफल हुने उल्लेख गरेको छ । त्यस्तै, २५ प्रतिशत हरियाली र २५ प्रतिशत पार्किङ क्षेत्र हुनेछ । भूमिगत पार्किङ ४ हजार वर्गमिटर र बाहिरी पार्किङ ७ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । उक्त पार्किङमा ९४ वटा चार पाङ्ग्रे सवारी साधन, ४९ वटा दुई पाङ्ग्रे सवारी साधन र १० वटा एम्बुलेन्स अट्ने छन् । अस्पतालभित्र जनरल, विशेषज्ञ र सुपर स्पेशालिटी सेवाहरू, रेडियोलोजी, रेडियोथेरापी, प्याथोलोजी, मेडिकल अनकोलोजी, क्यान्सर सर्जरी, फार्मेसी, आकस्मिक सेवा, भान्सा, स्टोर, मोर्चरी, फोरेन्सिक र ल्याब सुविधा उपलब्ध हुनेछ । अस्पतालमा अमेरिकाबाट आउने विश्वविख्यात क्यान्सर विशेषज्ञहरूद्वारा उपचार तथा अनुसन्धान कार्य हुने छ। यसले नेपालमा मेडिकल टुरिज्म (स्वास्थ्य पर्यटन) प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अस्पताल कुल ३६ महिनामा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको छ । अस्पताल सञ्चालनमा आएपछि ३०६ जना कर्मचारी खटिनेछन् । स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखेर तालिममार्फत दक्ष बनाइने प्रतिवेदनमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *