भौतिक,संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल )देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् । ३१औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले आयोजना गरेको ‘नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी’ विषयक कार्यक्रममा उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने बताए । भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ, उनले भने, नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन् । विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ ।

लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति शृंखला निर्माण गर्ने बताएका छन् । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्त्व पनि उनले जोड दिएका छन् । यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । साथै, उनले यसका लागि सार्वजनिक–निजी साझेदारी मोडलअनुसार काम गर्न चाहे निजी क्षेत्र तयार रहेको बताए । अध्यक्ष ढकालले ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि करले ढुवानी सेवा प्रभावित भएको र सामानको मूल्यवृद्धि भई उपभोक्ताहरूलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको बताए । यसले नेपालको निर्यात व्यापारमा ह्रास र व्यापार घाटा बढ्ने जोखिम रहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *