सिभिल सहकारीको सोल्टीमोडस्थित १ रोपनी जग्गा लिलामीमा

काठमाण्डौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित १ रोपनीभन्दा बढी जग्गा लिलामीमा चढाइएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइतबार ३५ दिने सूचना जारी गर्दै इच्छुकलाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको हो। ५२५.९५ वर्गमिटर (१ रोपनीभन्दा केही बढी) क्षेत्रफल भएको उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ७५ लाख रुपैयाँ तोकिएको छ। यस आधारमा न्यूनतम मूल्यमा बिक्री भए करिब १२ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बोलकबोलमा सहभागी हुन चाहनेले ३५ दिनभित्र बोलपत्रसहित न्यूनतम मूल्यको १० प्रतिशत धरौटी रकम समितिको कार्यालयमा पेस गर्नुपर्नेछ। बढीमा तीन फर्म, व्यक्ति वा संगठित संस्थाले संयुक्त रूपमा मात्र बोलपत्र दिन पाउने व्यवस्था छ। सिभिल बागमती प्रदेशको पहिलो समस्याग्रस्त सहकारी हो। यस सहकारीमा रकम डुबेको भन्दै १५७७ जनाले करिब ६ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्। सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी प्रकरणमा हाल कारावासमा छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *