प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
विश्वासको मत नलिएका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ बनाउनुपर्ने मागसहित दायर रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । यसअघि उक्त रिटमा न्यायाधीश सुनिलकुमार पोख्रेलको एकल इजलासले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कामचलाउ रहेको दाबी गर्दै परेको रिटमा ’अन्तरिम आदेश जारी किन नगर्ने ?’ भन्दै लिखित जवाफसहित छलफलमा उपस्थित हुन सरकारलाई आदेश दिएको थियो ।
भदौ ५ मा अधिवक्ता वीरेन्द्र केसीले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै पदमुक्त हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका थिए । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० असार २२ गते समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि संविधानअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रधानमन्त्रीले विशवासको मत नलिएको दाबी रिटमा गरिएको छ ।
रिट निवेदनमा प्रधानमन्त्री ओलीले संविधानको उलङ्घन गरेर विश्वासको मत नलिएको भन्दै उनी स्वतः पदमुक्त भएको घोषणा गर्न माग गरिएको छ । र, ओलीको नेतृत्वमा रहेको सरकारलाई दैनिकी कामकाज मात्र गर्ने कामचलाउ सरकारको हैसियतमा सीमित गरिनुपर्ने आदेश मागिएको छ ।