देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान हुँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छुट्टाछुट्टै अनुसन्धान थालेको स्रोतले जानकारी दियो । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो । देउवाको निवासमा हजार, पाँचसयका नोट र डलर जलेको अवस्थामा भेटिएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार जेनजी प्रदर्शनका क्रममा उच्छृङखल गतिविधि, लुटपाट, जलेका भनिएका नोटलगायका सबै विषयमा ब्युरोले अनुसन्धान थालेको छ । तत्कालीन ऊर्जामन्त्री खड्काको निवासमा भेटिएको पैसालाई प्रदर्शनकारीले हावामा उडाएका थिए । देउवा निवासबाट लुटिएको केही रकमसहित तीन जनालाई भदौ २४ गते राति नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाको बयान, घरमा जलेको अवस्थामा भेटिएका नोटसहित सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थाल्ने एक अधिकारीले जानकारी दिए ।