निर्वाचनमा जुटौं,नगराउने खतरा चिरौं – महामन्त्री शर्मा
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै जना निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन्। महामन्त्री शर्मा पछिल्लो ६ दिनमा ९ वटा जिल्लामा पुगेका छन्। उनले ती जिल्लामा भेटघाटका क्रममा ९ वटा बुँदामा आफ्ना कुराहरू राखेका छन्। यसक्रममा सबैजना निर्वाचनमा जुट्नुपर्ने र निर्वाचन नगराउने खतरालाई चिर्नुपर्ने उनले धारणा राखेका छन्। ‘संसद पुनर्स्थापना कि आमनिर्वाचन? यो प्रश्नमा कांग्रेसभित्र दुइखाले मत छन्। फरक मतहरू हुनु स्वाभाविक हो। संयम र एकता साथ हामी केन्द्रीय समितिको बैठकबाट निर्णयमा पुग्नेछौं,’ उनले भनेका छन्, ‘मेरो मत ताजा निर्वाचनको पक्षमा रहनेछ। घाइते संविधानलाई मल्हम लगाउने र प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो निर्वाचन नै हो। निर्वाचनमा जुटेर निर्वाचन नगराउने खतरालाई हामीले चिर्न सक्नैपर्छ। सजगता र दबाबको भूमिका निभाऔं।’ उनले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा र मकवानपुरमा कार्यकर्तासँग भेटेका छन्। यी जिल्लामा भएका आगजनीबाट क्षतिग्रस्त भवनहरूको पनि उनले अवलोकन गरेका थिए। उनले भेटघाटको क्रममा जेनजी आन्दोलनका मागबारे पनि आफ्ना धारणा व्यक्त गरेका छन्। जेनजीहरूका मूलतः तीन वटा माग रहेको र त्यसमध्ये सामाजिक सञ्जाल खोल्न गरिएको माग पूरा भइसकेको उनले बताए। यद्यपि भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्ने माग पूरा हुन बाँकी रहेकोमा आफूहरूको पूर्ण समर्थन रहेको उनले बताए। ‘जेनजी कोही चन्द्रमाबाट आएका होइनन्, हाम्रै काख र आँगनमा हुर्किएका हुन्।
यिनको प्रदर्शन हुँदै गर्दा घोषित र स्थापित तीन बुँदे माग थिए। सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन स्थापित गर। यसप्रति हामी सबैको सम्पूर्ण समर्थन छ, उनले भेटका क्रममा आफ्ना धारणा राखेका छन्, ‘एउटा माग पूरा भइसकेको छ। बाँकी दुई पूरा गर्न,गराउन हामी सबैको साथ रहनेछ। तर सरकारले मोड मोडमा बदलिन सक्ने मुड हेरेर होइन, मुद्दा हेरेर काम गरोस्। त्यस्तै भदौ २३ र २४ गते ज्यान गुमाएका विषयमा पनि उनले आफ्नो धारणा राखेका छन्। उनले भदौ २३ गतेको घटनामा छानबिन र कारबाही गर्नमा समर्थन जनाएका छन्। त्यस्तै भदौ २४ गते भएको खर्बौंको क्षतिको छानबिनका लागि पनि जेनजी पुस्ताले छानबिन र कारबाहीका लागि सार्वजनिक रूपमा दबाब दिनुपर्ने उनले बताएका छन्। त्यसदिन तोडफोड र आगजनीमा सामेल जोकोही कांग्रेस सदस्यबारे प्रमाणसहित केन्द्रमा पठाउन कांग्रेसले आन्तरिक सर्कुलर गरेको छ। त्यस्ता गतिविधिमा संलग्नको सदस्यता खारेज गर्ने कांग्रेसले नीति अघि सारेको छ। त्यसैगरी उनले नियमित महाधिवेशनलाई सर्वोत्तम मान्नुपर्ने पनि बताएका छन्। ‘नियमित महाधिवेशन पहिलो प्राथमिकता दिनुपर्छ। पछिल्लो पुस्तालाई पार्टीको सबै तहमा उल्लेख्य संख्यामा सहभागी गराउने ढोका त्यसबाट खुल्नेछ । छोटो समयमा त्यो सकिन्न भने केन्द्रीय समितिले नै विशेष अधिवेशन बोलाउन मिल्छ।