राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ : नेता बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक रहेको दाबी गर्दै बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिशत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन ।

हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् । बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रकाबिरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन् । शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छु, बर्तौलाले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *