मुख्यमन्त्री सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी

काठमाण्डौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बदरको माग गरेर प्रदर्शन गरेका हुन् । सोनलको नियुक्ति खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन् । प्रदेश प्रमुख भण्डारीले केहीबेर अगाडि मात्रै लोसपाका नेता जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत जनमतका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसद आफूसँग रहेको दाबीसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरेका थिए । निर्वाचन कार्यालयमा जनमतका केही सांसदले जनस्वराज पार्टीमा समेत सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ । जनमत पार्टी फुटिसकेको अवस्थामा प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट सोनललाई नियुक्ति गरेको भन्दै उनीहरूले नियुक्ति तत्काल सच्याउन माग राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *