माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको बताए । उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए । हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ, तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौँ । रासस
















