कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले मागे चुनावअघि महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले आगामी मंसिरभित्र १५औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गरेका हुन् । १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागु गर्नुपर्ने माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् । मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरू धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् । मागपत्रमा नेता नारायणबहादुर कार्कीको नाम पनि समावेश छ । अनलाइनखबरलाई प्राप्त मागपत्रमा उनको नामका पछाडि ‘मौखिक सहमति’ लेखिएको छ । ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने,’ माग पत्रमा भनिएको छ ।
उनीहरूले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङग्याउनुपर्ने पहिलो माग गरेका छन् । वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने र पार्टीको आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने पनि उनीहरूको माग छ । ‘आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने र आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने मागहरू क्रमशः पाँचौ र छैटौं बुँदामा राखिएको छ । ‘संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्ने, भनिएको छ ।
















