सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र
काठमाडौं । नेपाली प्रहरीले सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ गर्न प्रहरीले देशभर आक्रामक अभियान अघि बढाइरहेका बेला अदालत जलाउनेलाई विशेष प्राथमिकता राखेको हो । पछिल्ला घटनाक्रममा सर्वोच्च अदालत, विशेष अदालतसहित देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो । त्यसो त, सर्वोच्च र विशेष अदालतले यसअघि नै प्रहरीलाई अनुसन्धान तीव्र पार्न औपचारिक निवेदन दिएका थिए । त्यही आधारमा काठमाडौं प्रहरीको विशेष टोलीले आगजनी गर्ने समूहको पहिचान र खोजी तीव्र पारेको हो । प्रहरी टोली बनाउँदै हतियार लुट्ने समूहदेखि सरकारी कार्यालयमा आगो लगाउने समूहसम्मको छुट्टाछुट्टै रूपमा अनुसन्धान भइरहेको छ । विशेषगरी सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको पहिचानमा प्रहरीले संकलित फुटेज र दृश्य सामग्रीका आधारमा अनुसन्धान अघि बढाएको छ । तर, अनुसन्धान प्रभावित गर्नेगरी शुक्रबार ‘जेन–जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन–जी,’ सात प्रदेश संयोजक र ‘जेन–जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीलाई ११ बुँदे प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । त्यसको २ नम्बर बुँदामा ज्यान मुद्दा र बलात्कारबाहेक अन्य मुद्दामा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने, बाँकी सबै अनुसन्धान छुट्टै आयोगलाई जिम्मा दिनुपर्ने माग राखेका छन् । जेनजी प्रदर्शनी हिंसात्मक, आगजनी, लुटपाटमा संलग्नलाई पक्राउ गर्ने अभियान तीव्र पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, हालसम्म ५११ जना पक्राउ परेका छन् । तीमध्ये २२२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएकामध्ये केहीलाई हातहतियार, खरखजना तथा ज्यानसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा आगजनी–तोडफोड, निजी घर तथा व्यावसायिक भवनहरू जलाउने घटनामा संलग्नहरूलाई व्यापक रूपमा पक्राउ गरिँदै अनुसन्धान अघि बढाएको हो । भदौ २४ गतेको प्रदर्शनमा सबैभन्दा ठूलो भौतिक क्षति भएको थियो । २३ गते प्रदर्शनका क्रममा युवाहरूको मृत्युबाट आक्रोशित समूहले प्रहरी कार्यालयमा आगजनी गर्दै हतियारसमेत लुटेको थियो । देशभरका केही जेलबाट समेत तोड्दै कैदीरबन्दी फरार भएका थिए । प्रहरी कार्यालय तोडफोड, आगजनी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्नमध्ये धेरैजसो पहिले नै अनेक अपराधमा संलग्न व्यक्तिहरू भएको तथ्य खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेकामध्ये धेरैजसो पहिलेका रेकर्डमा समेत अपराधमा संलग्न देखिएका छन् । प्रहरीले प्रदर्शनका क्रममा खिचिएका फोटो तथा भिडियोका आधारमा पक्राउ र अनुसन्धान गरिरहेको छ । काठमाडौंको महाराजगञ्ज प्रहरी वृत्त र कोटेश्वर प्रभागका प्रहरी कर्मचारीको हत्यामा संलग्न ६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । भदौ २४ मा भएको प्रदर्शनमा महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । भिडियो विश्लेषणपछि असई राय र जवान थापालाई क्रूरतापूर्वक हत्या गर्ने क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले होमप्रसाद पौडेल, टीकाराम बिक, बुद्धिलाल तामाङ र युवराज क्यापछाकीसहितका व्यक्तिहरूलाई पक्राउ गरेको थियो । यस्तै, कोटेश्वर प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङको हत्यामा संलग्न अनुपम भण्डारीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । उनीसँगै सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, दीपक मगर, सुमित तितुङ, अलिश श्रेष्ठ र सौरभ तामाङसमेत आरोपित छन् । यसअघि, भदौ २४ गतेका आपराधिक गतिविधिमा संलग्नहरूमध्ये ज्यान मुद्दा र बलात्कार बाहेकका अभियोगमा पक्राउ परेकालाई अनुसन्धान नगर्न गृह मन्त्रालयले असोज ९ मा विज्ञप्ति जारी गरेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन भइसकेकाले त्यसकै सिफारिसमा मात्र कारबाही गर्नुपर्ने जिकिर मन्त्रालयको थियो । तर, प्रहरीले प्रकृतिका अपराध गर्नेहरूविरुद्धको अनुसन्धान नियमित भएको जनाउँदै आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई निरन्तर रूपमा पक्राउ गरिरहेको छ । जेनजीका नाममा भएका आपराधिक गतिविधिका हजारौँ फोटो तथा भिडियो प्रहरीको हातमा छन् ।
















