नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल
काठमाण्डौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाउँदै बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका २१ लाख ६ हजार कित्ता साधारण शेयर जारी गर्दै कुल रु २१ करोड ६ लाख बराबरको शेयर सार्वजनिक गर्ने तयारी गरेको छ। यो रकम कम्पनीको चुक्तापूँजीको २० प्रतिशत बराबर हो। आईपीओ निष्काशनका लागि आवश्यक द्विपक्षीय सम्झौता नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच काठमाडौंस्थित नयाँ बानेश्वरमा सम्पन्न भएको छ।
सम्झौता अनुसार निकट भविष्यमा शेयर बिक्री प्रक्रिया सुरू हुनेछ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी दर्ता कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्न स्वीकृत प्राप्त संस्था हो। कम्पनीले प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्डका कोष व्यवस्थापकका रूपमा कार्य गर्दै आएको छ। साथै बुक–बिल्डिङ विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्ने अनुमति पनि पाएको छ। कम्पनीले “नेशनल इक्विटी फण्ड–१” र उर्जा क्षेत्रमा लक्षित “नेशनल हाइड्रो फण्ड–२” सञ्चालन गर्दै पूँजी संकलन तथा लगानी गतिविधि गर्दै आएको छ। क्रेडिट रेटिङ संस्थाबाट प्राप्त मूल्याङ्कन अनुसार कम्पनीमा सरकारी संस्थाहरूको करिब २७ प्रतिशत लगानी रहेको छ। साथै बैंक, वित्तीय संस्था तथा एनआरएनहरूको समेत सहभागितामा कम्पनीले विगत तीन वर्षदेखि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ।
















