कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए । उनले बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको पनि बताए । ‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उदारतालाई तलसम्म पुर्‍याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ नेता रसाइलीले भने ।

उनले समितिले अहिलेसम्म क्रियाशील सदस्यताबारे भएका कामहरूलाई लिपीबद्ध गर्ने र त्यसको प्राविधिक पाटोलाई सहज गरेर व्यवस्थापन गरिने पनि बताए । कांग्रेसले आसन्न १५ औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । महामन्त्री थापाले १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *