अमेरिकाले १९ देशका नागरिकलाई ग्रीन कार्ड र नागरिकता दिने प्रक्रिया रोक्यो

अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि नयाँ आवेदन मंगलबारदेखि रोक लगाएको हो। वाशिङ्टन डिसीमा अमेरिकी नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकहरूले प्राप्त गरेको ग्रीनकार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए। मंगलबारदेखि भने ती देशका नागरिकहरूले ग्रीन कार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यी तिनै देशहरू हुन् जसलाई ट्रम्पले अमेरिकाको आन्तरिक सुरक्षामा दखल पुर्‍याउने सक्ने भनेर गत जुन महिनामै यात्रा प्रतिबन्ध लगाएका थिए।

त्यो भन्दा अगाडिदेखि नै अमेरिकामै रहेकाहरूले भने ग्रीन कार्ड र अमेरिकी नागरिकता लागि प्रक्रिया अगाडि बढाएका थिए। साथै यात्रा प्रतिबन्धका बावजुद पनि धेरै आवेदनहरू परेका थिए। ग्रीन कार्ड र नागरिकताका लागि आवेदन दिइसकेकालाई अन्तर्वार्ता लिने काम भइरहेको र धेरै मानिसहरू ग्रीनकार्ड प्राप्त गर्ने अन्तिम चरणमा थिए भनेर रोयटर्सले लेखेको छ। ट्रम्प प्रशासनको यो निर्णयले त्यस्ता व्यक्तिहरु ग्रीन कार्ड प्राप्त गर्ने अवसरबाट बञ्चित भएका छन्। अमेरिकी अध्यागमन कार्यालयले ग्रीनकार्डका प्राप्त गर्न लागेका व्यक्तिहरूमाथि आवश्यक परे पुनः अन्तर्वार्ता लिन सकिने बताएको छ। त्यसका लागि अहिले प्रक्रियामा अगाडि बढेका व्यक्तिका आवेदनहरू पनि होल्डमा राखिएका छन्। उनीहरुको कागजात पुनः परीक्षण र फेरि अन्तर्वार्ता भएपछि मात्रै ग्रीन कार्डका लागि विचार गरिने बताइएको छ। नयाँ नीतिले हजारौं आप्रवासीको भविष्य अन्योलमा पारेको छ भने मानव अधिकार समूहहरूले यसलाई भेदभावपूर्ण र कानुनी चुनौतीको विषय बन्न सक्ने कदमका रूपमा लिएका छन् भनेर रोयटर्सले लेखेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *