असोजको वर्षाले कृषिमा करिब चार अर्बको क्षति

काठमाडौं । गत असोज १७ गतेदेखि १९ गतेसम्म (तीन दिन) भएको वर्षाले बेमौसमी वर्षाले देशको कृषि तथा पशुपन्छी क्षेत्रमा पौने चार अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी क्षतिबारे अध्ययन गराएको हो । मन्त्रालयले हालै सार्वजनिक गरेको ‘बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ मा तीन दिनमा ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । प्राप्त तथ्यांकअनुसार बालीतर्फ ३ अर्ब ५४ करोड ६१ लाख ४ हजार, पशुपन्छी, मत्स्य तथा घाँस खेती तर्फ १६ करोड १५ लाख ४६ हजार, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ १ करोड ६ लाख २५ हजार, सरकारी कार्यालयतर्फ ५८ लाख ६० हजार, जमिन कटानतर्फ ३ करोड ७१ लाख १७ हजार र बिउविजनतर्फ २ करोड ८१ लाख ४ हजार बराबरको क्षति गरि जम्मा ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको देखिन्छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ । तीन दिन परेको बेमौसमी वर्षाका कारण तरकारीमा सबैभन्दा बढी १ अर्ब २५ करोड ७१ लाख ३३ हजार ५५० रुपैयाँ बराबरको क्षति पुगेको देखिन्छ, जुन कूल क्षतिको ३५.४५ प्रतिशत हो । २०८२ असोज २३ गतेको सचिवस्तरीय निर्णयानुसार बेमौसमी वर्षाका कारण भएको कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानी नोक्सानीको विवरण संकलन गर्ने समिति गठन गरिएको थियो ।

कृषि मन्त्रालयका सहसचिव ई। जगन्नाथ तिवारीको संयोजकत्वममा गठित समितिमा पाँच सदस्य थिए । प्रतिवेदनमा भनिएको छ, “प्राप्त तथ्याङ्कहरुको विश्लेषणको आधारमा, ५ वटा प्रदेशहरूमा बेमौसमी वर्षाबाट प्रभावित कुल क्षेत्रफल १५ हजार ४९९ हेक्टरमा विभिन्न कृषि उत्पादन विशेष गरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब १ लाख २७ हजार ३८३ मेट्रिक।टन घटी उत्पादन हुने देखिन्छ ।” क्षतिका हिसाबले मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । मधेश प्रदेशका आठ वटा जिल्लामा ३ अर्ब ३५ करोड ५५ लाख १६ हजार रुपैयाँको क्षति भएको छ । मधेशमा तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोसी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजार रुपैयाँको क्षति भएको छ, जसमा धान, तरकारी, अलैंची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् । वाग्मतीमा २ करोड ४ लाख ५४ हजार रुपैयाँ, गण्डकीमा १२ लाख ८० हजार रुपैयाँ र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजार रुपैयाँको क्षति भएको प्रतिवेदनमा जनाइएको छ । बेमौसमी वर्षाले कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका किसानहरूको धानबाली, तरकारी, उखु र फलफूल बाली उत्पादनमा क्षति पु–याएको देखिन्छ । यसले उल्लेखित प्रदेशका प्राभावित जिल्लाहरुमा आंशिकरुपमा खाद्य असुरक्षा सिर्जना गर्न सक्ने देखिन्छ भने बेमौसमी वर्षाको प्रभावका कारण यसवर्ष धानको उत्पादनमा गत वर्षको तुलनामा करिब २७ हजार ७५९ मेट्रिक टन धान उत्पादनमा कमी आउने सक्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार, बेमौसमी वर्षाको सबैभन्दा ठूलो प्रभाव तरकारीमा परेको छ । तरकारीमा करिव १ अर्ब २५ करोड ७१ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको देखिन्छ । बेमौसमी वर्षाका कारण कुल १ हजार ३६१ हेक्टरमा गरिएको तरकारी खेती प्रभावित भएको छ । वर्षाले करिब १६ हजार १२० मेट्रिक टन तरकारी उत्पादनमा क्षति गरेको छ । बेमौसमी वर्षाको कारण कुल १० हजार ८४० हेक्टर धान खेती गरिएको क्षेत्रफल प्रभावित भएको अध्ययनले देखाएको छ । धानबालीमा ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ र उखुमा ७७ करोड ३० लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, फलफूलमा मध्यमस्तरको नोक्सानी भएको छ । फलफूलमा २६ करोड ८८ लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको देखिन्छ । बेमौसमी वर्षाका कारण कुल १९४ हेक्टरमा गरिएको फलफूल खेती प्रभावित भएको छ भने करिब २ हजार ९९९ मेट्रिक टन फलफूल उत्पादनमा क्षति गरेको छ । प्रतिवेदन अनुसार, बेमौसमी वर्षाका कारण कुल १ हजार ५७६ हेक्टरमा गरिएको उखु खेती प्रभावित भएको छ । करिब ७ लाख ७० हजार ४० मेट्रिक टन उखु उत्पादनमा क्षति गरेको छ । वर्षाले उखु खेतीमा ७७ करोड ३० लाख ५८ हजार आर्थिक नोक्सानी गरेको अध्ययनले देखाएको छ । दलहन, कोदो, चिया,कफी, आलु, अदुवा, अलैचीलगायतका बालीहरूमा तुलनात्मक रूपमा न्यून क्षति पुगेको छ, जसको हिस्सा कुल नोक्सानीको २ प्रतिशतभन्दा कम रहेको छ । बेमौसमी वर्षाको कारण कुल ३२७.६९ हेक्टरमा गरिएको अन्य बाली (तेलहन, फूल, मकै) प्रभावित भएको छ । वर्षाका कारण करिब २ हजार ७७७.२७ मेट्रिक टन अन्य बाली उत्पादनमा ह्रास आएको र २८ करोड ९९ लाख ३२ हजार आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *