पूर्वगृहमन्त्री खाँणको नाम पहिलो नम्बरमा रूपन्देही–३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही–३ बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले नेता खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो । समितिले उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको छ । नेता खाँणको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । नेता खाँण प्रतिनिधिसभा निर्वाचन ०७९ मा यही क्षेत्रबाट राप्रपाका दिवंगत नेता दिपक बोहरासँग पराजित भएका थिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न भएको आरोपमा २०८० साल वैशाख २७ गते उनी पक्राउ परेका थिए । उनी ७ महिना जेल बसेर २०८० मंसिर २९ गते धरौटीमा रिहा भएका थिए । क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा समानुपातिकतर्फ अल्पसंख्यक समुदायबाट जन्नतुन निशा धुनिया, थारू समुदायबाट पुष्पा थरुनी र महिलातर्फ माधवी शर्मालाई सिफारिस गरेको छ । यस्तै राष्ट्रिय सभा सदस्य पदका लागि सोमनाथ शर्मा (खस–आर्य), मिननाथ शर्मा (अपाङ्गता भएका), भीमप्रसाद न्यौपाने (खस–आर्य) र मोहन सरदार (अल्पसंख्यक) सिफारिसमा परेका छन् ।
रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ १५ जना सिफारिस
यसैगरी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हिरा खत्रीले बताए । यस्तै समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए । क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस भएको छ । यस्तै समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभामा रामबहादुर कार्कीको नाम सिफारिस भएको रुपन्देही २ का नेता विमलराज भट्टराईले जानकारी दिए । रुपन्देही २ एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । २०७९ को चुनावमा भने पौडेलले रास्वपाका उम्मेदवारलाई १५ सय भन्दा कम मत अन्तरले मात्रै पछि पारेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *