चुनावको बेला काँग्रेसमा सङ्कट

काठमाडौँ । शीघ्र निर्वाचनको पीडाले थङथिलो भएको मुलुकलाई निकासको राहत दिन अग्रसर हुनुपर्ने प्रमुख प्रजातान्त्रिक दल नेपाली काँग्रेस भित्रै भाँडभैलो भएको छ । कथित जेन्जी विद्रोहमा मर्लान्त आक्रमणको शिकार भएका सभापति शेरबहादुर देउवा समेतका नेताहरूमाथि आफ्नै कार्यालयमा आक्रमणको योजना बनाउने काँग्रेस कार्यकर्ताबाट त्यो पार्टीको भविष्य कसरी सुरक्षित होला, मुलुकको राजनीतिक क्षेत्र यो प्रश्नको उत्तर खोज्न आजसम्म असफल भएको छ । असंवैधानिक ढङ्गले संसद्को हत्या गरी फागुन २१, २०८२ मा संसद्को ताजा निर्वाचन गर्ने घोषणा पछि अहिलेसम्म स्थिति सामान्य बन्न सकेको छैन । यो असामान्य परिस्थितिमा राष्ट्र र जनताको विरुद्ध अनेक षडयन्त्र भएका छन् र त्यसको निसानामा नेपाली काँग्रेस परेको छ । नेपाली काँग्रेस विरुद्ध देशी विदेशी शक्ति मात्र लागेका छैनन् बरु जान अञ्जान रूपमा पार्टी भित्रैबाट पनि षडयन्त्र भएको छ । पार्टी नेतृत्वको नालायकीको परिणाम आज काँग्रेसले मात्र होइन सिङ्गो देशले भोगिरहेको छ । काँग्रेस र एमालेलाई सिद्ध्याउन सके नेपालबाट लोकतन्त्रको अन्त्य सम्भव छ भन्ने ठानिरहेको विदेशी शक्तिले यी दुवै पार्टी विरुद्ध एकसाथ आक्रमण गर्‍यो । त्यो आक्रमणलाई एमालेले चिरेर अघि बढ्न सक्यो भने काँग्रेसले त्यसो गर्न सकेन । अहिले काङ्ग्रेसभित्र विशेष महाधिवेशन,नियमित महाधिवेशन र आमनिर्वाचनपछि मात्र महाधिवेशन भन्ने मुदाले सिङ्गो पार्टीलाई विवादमा फसाएको छ । विधान अनुसार गरेर महाधिवेशनको विषयमा उठेको मुद्दालाई किनारा लगाएर निर्वाचनमा होमिनु पर्ने प्रमुख प्रजातान्त्रिक शक्ति आज कुहिरोको काग बन्न पुगेको छ । निर्धारित मितिमा संसद्को निर्वाचन हुन्छ कि हुँदैन भन्ने विवादले निकास नपाए पनि पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का र स्थान हद खारेज भएपछि चुनावको सम्भावना बढेर गएको छ । आफ्ना अध्यक्ष माथिको स्थान हद खारेज भएपछि एमाले पनि चुनावी अभियानमा सामेल भएको छ । उसले पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस त शुरुदेखि नै चुनावको पक्षमा खडा रहँदै आएको छ । चुनावी प्रयोजनका लागि गठित सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि बिस्तारै दलहरूप्रतिको पूर्वाग्रह त्याग्दै जाँदै छन् । यसले चुनाव हुने सम्भावनालाई बढाइदिएको छ । अहिले चुनाव हुने र नहुने सम्भावना पचास प्रतिशतमा आइपुगेको छ ।
चुनाव भए पनि नभए पनि घोषणा भएको चुनावको तयारीमा जुट्नु राजनीतिक दलहरूको कर्तव्य हुन जान्छ । कि त चुनाव हुनै नदिने, सङ्घर्षको आँधीबेहरी ल्याउने तागत राजनीतिक दलमा हुनुपर्छ कि घोषित मितिमा चुनाव हुन्छ भनेर तयारीमा जुट्नुपर्छ । त्यसबाहेक अर्को विकल्प रहँदैन । निर्वाचनको विपक्षमा रहेको नेकपा –एमालेले समेत चुनावको तयारीमा परिचालन समिति निर्माण गर्दा समेत नेपाली काँग्रेसले आजसम्म चुनावको नाममा एउटा सिन्को भाँचेको छैन । चुनावको मुखमा पार्टीभित्र महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापा विशेष महाधिवेशनको खेतीमा लागेका छन् भने सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का त्यसप्रति उदासीन बसेका छन् । पार्टीभित्र समस्या आएपछि त्यसलाई समाधान गर्नु सभापतिको दायित्व हो । मौन बसेर निर्वाचनमा जाने पार्टीलाई विवादको अखडा बनाउनु नेतृत्वको खुबी होइन । काङ्ग्रेसभित्र आन्तरिक लोकतन्त्रको सम्बन्धमा बारम्बार प्रश्न उठ्ने गरेको छ । त्यसको हल खोज्ने थलो राष्ट्रिय सम्मेलन वा महाधिवेशनले नै हो । विवादप्रति मूल नेतृत्व उदासीन रहँदा विधानले दिएको अरू विकल्प पनि खोजिन्छ । तर, विधानलाई तोडमरोड गरेर, आफू अनुकूल व्याख्या गरेर पार्टीलाई सङ्कटमा फसाइनु हुँदैन । नेपाली काँग्रेसलाई आफ्नो स्वार्थ सिद्ध गर्ने थलो बनाउन चाहने र सधैँ आफ्नो बपौती ठान्ने प्रवृत्ति दुवै घातक छन् । एउटा प्रजातान्त्रिक दलभित्र कार्यशैली र पार्टी पद्धतिमा सहमति असहमति स्वाभाविक कुरा हो । पार्टीभित्र उत्तराधिकारी तोक्ने, निश्चित व्यक्ति र नेताको स्वार्थको बन्धक बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन । त्यसको अर्थ सङ्कटको बेला मौका छोप्ने र विधानको अपव्याख्या गरेर पार्टीलाई कब्जा गर्ने कुरा जायज हो भन्ने होइन । विधानमा विशेष महाधिवेशनको स्पष्ट व्यवस्था त छ तर त्यस्तो महाधिवेशनले नेतृत्व परिवर्तन भने गर्न सक्दैन । महाधिवेशनद्वारा निर्वाचित सभापतिलाई फेर्ने, पदमुक्त गर्ने वा नयाँ सभापति चुन्ने काम विशेष महाधिवेशनले गर्न सक्दैन । सभापतिको मृत्यु भएमा, दिमाग बिग्रिएमा स्वइच्छाले राजीनामा दिएमा बाहेक काँग्रेस सभापतिलाई हटाउने अर्को व्यवस्था छैन । २०१४ जेठ १०–११ गते सभापति सुवर्ण शमशेरले विशेष महाधिवेशन बोलाएर आफूले राजीनामा दिएर बिपीलाई सभापति बनाएका थिए । अहिले सभापति शेरबहादुर देउवा सभापति छाड्न वा विशेष महाधिवेशन डाक्न तयार छैनन् । यस्तो स्थितिमा काँग्रेसले राम्रोसँग काम गर्न सकेन भन्ने कुनै नेता लाग्छ भने निकासका लागि सक्रिय हुने, विकल्प खोज्ने अधिकार छ तर सिङ्गो देश जलेको बेला, नेताहरूमाथि मर्लान्त आक्रमण गरेको बेला मौका छोप्ने होइन । त्यस्तो बेला सिङ्गो पार्टी एक भएर अघि बढ्नुपर्छ । सङ्कटमा मौका छोप्ने प्रवृत्ति घोतक हुन्छ र त्यो बारम्बार पुरावृत्त भइरहन्छ ।
नेपाली काँग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल हो । उनको अवधि पनि सकिइसकेको छ । यो चुनावमा भाग लिने घोषणा गरिसकेको काँग्रेसले आफ्ना सारा शक्ति चुनावमै लगाउनु पर्नेमा पार्टीभित्र अनेक बखेडा झिक्ने जानी नजानी आफ्नो शक्ति क्षीण गराउने काम पार्टीका कुनै नेता कार्यकर्ताको हुन सक्दैन । अहिले महामन्त्री द्वयले डाकेको विशेष महाधिवेशनले पार्टीलाई २०५८ को शेरबहादुर खुमबहादुरले विभाजन गराएको स्थितिमा पु¥याउन सक्छ । विधानले विशेष अधिवेशन गर्ने अधिकारको किटान नै गरेको छ । केन्द्रीय कार्यसमितिले पनि त्यस्तो महाधिवेशन बोलाउन सक्छ । केन्द्रले त्यस्तो आवश्यकता नदेख्दा महाधिवेशन प्रतिनिधिको बहुमतले पनि विशेष महाधिवेशन बोलाउन माग गर्न सक्छन् । त्यस्तो माग भई आएमा केन्द्रले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ । तर केन्द्र भनेको महामन्त्री चाहिँ होइन । काँग्रेस विधानको धारा १३ मा केन्द्र भनेको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय भनेर स्पष्ट गरेको छ । घोषित मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल अझै कायमै छ । चुनाव हुन्छ नै भनेर सबै शक्ति तयारीमा लागेका छन् । कोही पार्टी खोल्ने, कोही सामाजिक सञ्जालमा लोकप्रिय रहेकाहरूको शिला खोज्ने, कोही नाम मात्रका समूहलाई समेटेर प्रचारबाजी गर्ने धन्धामा लागेको बेला काँग्रेस आपसी विवादमा चुर्लुम्म डुबेको छ । यही अवस्थामा रहेर तोकिएकै मितिमा निर्वाचन हुने अवस्था आउने हो भने काँग्रेस शून्य नेपालको सम्भावनालाई टार्न सम्भव हुँदैन । तसर्थ, नेपाली काँग्रेसको भविष्यका लागि विवादको निकास निकाल्न विशेष महाधिवेशनको पक्ष विपक्षमा रहेका दुवै एक हुन सहमति खोज्न राजी हुनुपर्छ । महामन्त्रीहरूको लाज राखिदिन डाकिएको महाधिवेशनलाई विशेष भेलामा रूपान्तरण गरी सबै काँग्रेस एक ढिक्का हुने प्रतिबद्धता गर्न व्यवहारिक समाधान हुन्छ । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले बोलाएको महाधिवेशन प्रतिनिधिहरूको भोलामा सभापति कृष्णप्रसाद भट्टराई स्वयम उपस्थित भएर सम्बोधन गरी पार्टीलाई विभाजनबाट जोगाएको इतिहास छ । त्यसलाई पुनः अनुकरण गरी अवलम्बन गर्न सान्दर्भिक हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *