बुध्द एयरको यात्रु सेवा घट्दासमेत आम्दानी बढ्यो

काठमाडौं । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको यात्रु सेवा संख्या घटे पनि आम्दानी भने बढ्दै गएको छ। बुध्दको कुल यात्रु सेवा हिस्सा सुगम गन्तव्यमा मात्रै हेर्दा ५८ र समग्र यात्रु उडान गर्ने वायुसेवासँगको समग्र तुलना गर्दा ५६ प्रतिशत बजार हिस्सा छ । तर पछिल्लो समय यसले यात्रु सेवा घटाएको भए पनि यसको आम्दानी भने बढ्दै गएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । बुध्द एयरको यात्रु उडान क्षमता सन् २०२४ को तुलनामा सन् २०२५ को एक वर्षमा घटेको छ । यो वायुसेवा आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिने कम्पनी भए पनि यसले गत वर्षको तुलनामा यो वर्ष सन् २०२५ मा उडाएका यात्रु ८५ हजार ४७३ ले घटेको छ । यो संख्या ३।२२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । तर, सन् २०२४ मा २६ लाख ४८ हजार यात्रुलाई सेवा दिँदा १३ अर्ब २२ करोड रुपैयाँ कुल आम्दानी गरेको बुध्द एयरले सन् २०२५ मा २५ लाख ६३ हजार यात्रुलाई सेवा दिँदैमा भने १४ अर्ब २९ करोड रुपैयाँ आम्दानी भएको अनुमान छ । यो वायुसेवाले सन् २०२५ को पहिलो ६ महिनामै ७ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरिसकेको छ । त्यसो त यो वायुसेवा कम्पनीले सन् २०२३ मै २५ लाख ७७ हजार यात्रुलाई सेवा दिँदा जम्मा १२ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकमा देखिएको छ । आन्तरिक उडानमा बर्सेनि सबैभन्दा धेरै यात्रुलाई सेवा दिने यो वायुसेवा कम्पनीसँग जहाज पनि अरू वायुसेवाभन्दा धेरै छन् । बुध्दसँग सुगम क्षेत्रमा मात्रै उडान गर्ने १८ वटा हवाई जहाज छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बुध्द एयरले दिएको यात्रु सेवाको हिसाबले यसको बजार हिस्सा ५६ प्रतिशत देखिन्छ । यो बजार हिस्सा नेपालमा उडान गर्ने कुल वायुसेवाको यात्रु उडानमध्ये हो । सुगम क्षेत्र मात्रकै यात्रु उडानको संख्याका हिसाबले भने बुध्द एयरको बजार हिस्सा करिब ५८ प्रतिशत हुन्छ । सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने वायुसेवामा बुध्दसँग प्रतिस्पर्धा गर्ने कम्पनीको बजार हिस्सा निकै न्यून छ । कोरोना महामारीका कारण सन् २०२१ मा जम्मा ३ अर्ब ३३ करोड रुपैयाँको मात्रै व्यापार गर्न सकेको यो वायुसेवाले त्यसपछिको वर्ष सन् २०२२ मै यात्रु उडान र व्यापार दुवैलाई लयमा ल्याउन सकेको थियो । उक्त वर्ष २३ लाख ८७ हजार यात्रुलाई सेवा दिएर १० अर्ब कमाउन सकेको बुध्दले सन् २०२४ मा भने २६ लाख ४८ हजार यात्रुलाई सेवा दिन सकेको देखिन्छ । यो सेवाबाट भएको आम्दानी १३ अर्ब २२ करोड मात्रै भएको पनि तथ्यांकले देखाएको छ । व्यापार पछिल्लो ४ वर्षमै ४१ प्रतिशतले बढाउन यो वायुसेवा सफल भएको छ । यसले कोरोना महामारीअगाडि सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । बजार विस्तारमा बुध्द एयरले लिएको रणनीति, यात्रुप्रतिको विश्वास र समयानुकूलको जहाजसहितका कारण पनि अपेक्षाकृत रूपमा आम्दानी बढिरहेको देखिन्छ । ‘हामीले पछिल्लो समय एटीआर ७२ जहाजबाट दिने सेवालाई बढाएका छौँ भने यात्रुसेवालाई प्राथमिकता दिएर हुने उडानमा कुनै सम्झौता गरेका छैनौँ,’ बुध्द एयरका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीले भने । पछिल्लो समय यात्रु सेवा संख्या घट्दा पनि आम्दानीमा असर नपरेको देखिएको हो भने त्यसको तथ्यांक विश्लेषण गरेर मात्रै भन्न सकिने जोशीले बताए । उनले भने, ‘हामीले सबै पक्षको विश्लेषण गर्दै छौँ, त्यसपछि के आउँछ खबर गरौँला नि ।’ २९ वर्षअगाडि वीरेन्द्रबहादुर बस्नेतले १९ सिट क्षमताका १९०० डी बीचक्राफ्टबाट सेवा सुरु गरेको यो वायुसेवा छोटो समयमै बजारको अग्रणी कम्पनी बन्न पुगेको हो । अहिले पनि आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान गरिरहेको बुध्दप्रति यात्रुको विश्वास बढ्दै गएको छ । बुध्द एयरले हाल अन्तर्राष्ट्रिय उडानमा काठमाडौँबाट भारतको बनारस र कोलकातामा उडान गर्छ । यो वायुसेवाले गरेको उक्त गन्तव्यको उडानका लागि पछिल्लो वर्षमा १६ हजार ५९९ यात्रुलाई सेवा दिएको छ । बुध्दले ७ हजार ९७३ यात्रुलाई काठमाडौँ भित्र्याउँदा ८ हजार ६२६ यात्रुलाई भारत पुर्‍याएको छ । यसका लागि बुध्दले ३७२ वटा उडान गरेको सन् २०२५ को यात्रु उडान तथा अवतरणको तथ्यांकले देखाएको छ । बुध्दले भने ७ लाख २१ हजार उडानबाट २७ लाख यात्रुलाई सेवा दिएको दाबी गरेको छ । यसले आन्तरिक उडानमा प्रादेशिक उडान पनि गर्छ । यसले भैरहवाबाट पोखरा र विराटनगरबाट पोखरामा समेत उडान गर्छ । यसको प्रादेशिक उडानको तथ्यांकसमेत जोडिँदा २७ लाख पुग्ने दाबी बुध्दको छ । यसले आन्तरिक उडानमा ६० प्रतिशत हिस्सा रहेको दाबी गरेको छ । यो वायुसेवा सबैभन्दा बढी कर तिर्ने आन्तरिक उडानको वायुसेवा कम्पनी समेत हो । यसले गत वर्ष सन् २०२४ मा मात्रै १ अर्ब ७ करोड रुपैयाँ कर तिरेको छ । यसमध्ये प्रत्यक्ष कर ४१ करोड रुपैयाँ छ भने अप्रत्यक्ष कर ६५ करोड रुपैयाँ रहेको छ । यो वायुसेवाले १६ सय जनालाई रोजगारी दिएको छ । यही कर्मचारीको मेहनतले नै बुध्दलाई सफल वायुसेवा बनाउन साथ दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *