नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।
४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी रहेको खुलेको उनले बताए । उहाँ सरकारी कर्मचारी हुनुहुँदो रहेछ । आज बिहान फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो । त्यसपछि उपचारका लागि सिभिल अस्पताल लगिएको थियो, एसपी भट्टराईले भने, तर, बिहान ८ः५५ बजे चिकित्सकले मृत घोषणा गरिदिएका थिए । उक्त टिपरका चालक गोरखाका २६ वर्षीय विकास थापामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।















