इरानबाट मिसाइल आउन सक्ने खतराका कारण यूएइले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई(ले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र एयर स्पेस बन्द गरिएको जनाएको छ । यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको छ । इतिहाद र एमिरेट्स एयरलाइन्सले भर्खरै आफ्ना केही उडानहरू पुनः सुरु गरेको समयमा यस्तो निर्णय भएको हो । व्यावसायिक उडानहरूलाई असर गर्ने अघिल्लो हवाई क्षेत्र प्रतिबन्ध फुकुवा भएको केही घण्टाभित्रै पुनः यूएईको हवाई क्षेत्र बन्द गरिएको हो ।
देशको राष्ट्रिय ध्वजावाहकमध्ये एक, एमिरेट्स एयरलाइन्सले सोमबारदेखि कटौती गरिएको उडान तालिका पुनः सुरु गरेको थियो । यसअघि दुबईको नागरिक उड्डयन प्राधिकरणले आगलागीको घटनापछि सावधानीका उपाय स्वरूप दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा स्थगित गरेको थियो । देशको अर्को प्रमुख एयरलाइन्स, इतिहाद एयरवेजले पनि अबु धाबीबाट सीमित व्यावसायिक उडान तालिका सञ्चालन गरिरहेको थियो । विमान कम्पनीले भनेको छ, “यो निर्णय विस्तृत सुरक्षा र रक्षा मूल्यांकनपछि सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा लिइएको हो ।” बीबीसी
















