सडक टोल शुल्क संकलनका लागि वाणिज्य बैंकले कार्ड जारी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा सडक दस्तुर संकलनलाई डिजिटल बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार जारी गरेको परिपत्रअनुसार, अब वाणिज्य बैंकहरूले सरकारले तोकेको सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल फ्री) संकलन गर्ने प्रयोजनका लागि प्रिपेड ट्याग तथा कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारीसाधनहरूले अब यो प्रविधिमार्फत सहजै टोल शुल्क भुक्तानी गर्न सक्नेछन् ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को बुँदा नं. १ को (२) मा उपबुँदा (ख) थप गरी यो व्यवस्था लागू गरिएको हो । यो विशेष सुविधा प्रदान गर्ने अधिकार हाललाई अनुमतिप्राप्त वाणिज्य बैंकहरूलाई मात्र दिइएको छ,” संशोधित एकीकृत निर्देशनमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको कार्यकारी निर्देशक डा। सत्येन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । यो कदमले नेपालको सडक यातायात क्षेत्रमा हुने वित्तीय कारोबारलाई थप आधुनिक, पारदर्शी र झन्झटरहित बनाउने केन्द्रीय बैंकको विश्वास छ ।
















