महासंघ एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको उम्मेदवारी घोषणा

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनलाई लक्षित गर्दै एसोसिएटतर्फ उपाध्यक्ष पदमा उद्यमी प्रवलजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। एक कार्यक्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। पाण्डेले महासंघका भावी अध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठको टिमबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि चैत २९ र ३० गते निर्वाचन हुने तयारी गरिएको छ। वर्तमान अध्यक्ष चन्द्र ढकाल र अञ्जन श्रेष्ठले आ आफ्नो टिम घोषणा गरिसकेका छन् भने चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। व्यावसायिक क्षेत्रमा सक्रिय पाण्डे स्पष्ट दृष्टिकोण भएका उद्यमीका रूपमा चिनिन्छन्। निजी क्षेत्रका समस्या, नीति–नियम र समग्र आर्थिक परिवेशबारे गहिरो अध्ययन गर्ने व्यक्तिका रूपमा उनको पहिचान रहेको बताइन्छ। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, टिमवर्कमा विश्वास गर्ने तथा निजी क्षेत्रका मुद्दामा स्पष्ट धारणा राख्ने उद्यमी हुन्। पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्। बदलिँदो राजनीतिक–आर्थिक परिवेश र विभिन्न आन्दोलनपछिको सुस्त अर्थतन्त्रलाई गति दिन नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ छ। उनले व्यवसायमैत्री वातावरण सिर्जना गर्न नीतिगत स्थिरताको आवश्यकता औंल्याउँदै कर प्रणालीलाई वैज्ञानिक बनाउन बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली लागू गर्नुपर्ने धारणा राखेका छन्।

साथै, कर चुहावट नियन्त्रण, आयकर दर कटौती, व्यवसायको लागत घटाउने उपाय तथा उद्योगका लागि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने नीति आवश्यक रहेको उनले बताए। त्यसैगरी, हवाई टिकटमा लगाइएको भ्याट खारेजी, मुद्रास्फीतिको आधारमा न्यूनतम तलब निर्धारण, निजी क्षेत्र र श्रमिकबीच सहकार्य तथा भूतप्रवाही कर नलगाउने प्रतिबद्धता कार्यान्वयनमा महासङ्घले सक्रिय भूमिका खेल्नुपर्ने उनले उल्लेख गरेका छन्। उनका अनुसार कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रभावकारी बजारीकरण, आयात प्रतिस्थापन गर्ने उद्योगको विकास, विद्युत् प्रसारण लाइन विस्तार तथा व्यापार क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन महासंघले सशक्त पहल गर्नुपर्छ। पूर्व इन्जिनियरसमेत रहेका पाण्डे व्यवसायमा प्रवेश गर्नुअघि नेपाल टेलिकममा कार्यरत थिए। सिमेन्ट, औषधि उद्योग, बैंकिङ तथा बीमा क्षेत्रमा उनको लगानी रहेको छ। उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षसमेत हुन्। पाण्डे पछिल्ला तीन कार्यकालदेखि महासंघमा कार्यकारी सदस्यका रूपमा सक्रिय छन्। उनी पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा समेत हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *