२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने प्रतियोगितामा आर्मीले १९ स्वर्ण, ४ रजत र ९ कांस्य जितेर च्याम्पियन बनेको हो । यस्तै बागमती ७ स्वर्ण १० रजत र ९ कांस्यसहित दोस्रो हुँदा एपीएफ ४ संवरण, ७ रजत र ६ कांस्य जितेर तेस्रो भयो । व्यक्तिगततर्फ पनि आर्मीकै खेलाडी उत्कृष्ट भए । आर्मी सुमन मरासिंगी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी बने । सुमनले ३ र रिनाले ५ स्वर्ण जिते ।
विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए । यस्तै दोस्रो यु १५ आइटीएफ प्रतियोगिता मा बागमती पहिलो, लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो भयो । बागमतीले ९ स्वर्ण ५ रजत र ७ कांस्य, लुम्बिनीले ४ स्वर्ण ६ रजत र ७ कांस्य तथा कर्णालीले ४ स्वर्ण ५ रजत र ७ कांस्य जित्यो । यू १५ मा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीका आकृति नेपाल उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ गरी कुल ९ टोलीको सहभागिता थियो ।
















