वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो । जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ । जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ्ग क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए। नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो , बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । बैंकका अनुसार यही वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यसप्रकारका शिविर आयोजना हुँदैछ । फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन्। हामी जलनका बिरामीको निःशुल्क उपचार र नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्ने दुई वटा उद्देश्य लिएर यहाँ आएका थियौँ, चार दिनको शिविरमा अपेक्षाभन्दा बढी सेवा दिन सकेको अनुभव भएको छ, डा. राईले भने ।
भविष्यमा जलनसम्बन्धी यसप्रकारको उपचार नारायणी अस्पतालबाटै होस् भन्ने हाम्रो चाहना हो । नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले जलनका कारण अङ्गभङ्ग भइ वर्षौदेखि असहज रुपमा जीवन बाँचिरहेका बिरामीहरुले उपचारपछि सहज रुपमा काम गर्न पाएकामा खुसी लागेको बताए । “उचित उपचारको अभावमा लामो समयसम्म असहज जीवन बिताइरहेका बिरामीका लागि शिविर निकै फलदायी भयो, शिविरमार्फत उहाँहरुको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा म विश्वस्त छु । नबिल बैंकले यअघि सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना र गत चैत २७ देखि कर्णालीमा प्रदेशमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए । नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
















