रिलायन्सले ९ महिनामा कमायो पौन २७ करोड नाफा
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमास अन्त्य (चैत्र मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । हालै बुक बिल्डिङबाट आईपीओ जारी गरेको रिलायन्सले सार्वजनिक निष्काशनपछि पनि सबल फाइनान्सियल पोजिसनमा रहेको तथ्यसहित वित्तीय विवरण प्रकाशन गरेको हो । रिलायन्सले चालु आवको ९ महिनामा २६ करोड ६९ लाख ९२ हजार रूपैयाँ खुद नाफा गरेको छ । ९ महिना अवधिमा ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको सञ्चालन नाफा (नाफा मार्जिन) ५३ करोड ४९ लाख ८८ हजार रूपैयाँ छ । अर्थात् कम्पनीको नाफा मार्जिन कुल व्यापारको ७.२ प्रतिशत रहँदा करपछिको नाफा (खुद नाफा) ३.६ प्रतिशत रहेको छ । ९ महिनाको अवधिमा कम्पनीको ब्याज र अन्य वित्तीय खर्च २२ करोड १० लाख रुपैयाँ रहेको छ भने ४ करोड ७० लाख ९५ हजार रूपैयाँ आयकर तिरेको छ । ९ महिनामै ७ अर्ब ४६ करोडको व्यापार गर्नुले कम्पनीको बजारमा बलियो पकड र ‘सर्भाइभल क्यापासिटी’ देखिन्छ । २७ करोड खुद नाफा कमाएर आफूलाई ‘प्रोफिटेबल’ प्रमाणित गरेको छ, जुन धेरै नयाँ सूचिकृत कम्पनीमा देखिँदैन । ९ महिनाको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ रहेको छ ।
उत्पादनमूलक कम्पनीहरू प्रायः नगद अभावमा हुन्छन् । तर रिलायन्सको तरलता अनुपात २ देखिन्छ जसले कम्पनीसँग अल्पकालीन दायित्व भुक्तानी गर्न पर्याप्त चालु सम्पत्ति रहेको देखाउँछ । यसले कम्पनीसँग आफ्नो अल्पकालीन दायित्व तिर्न सक्ने क्षमता दोब्बर रहेको देखाउँछ । कुल सम्पत्ति १४ अर्ब ८६ करोड रुपैयाँ रहेको रिलायन्सको कम्पनीको दीर्घकालीन १ अर्ब ९५ करोड र अल्पकालीन ६० करोड २७ लाख गरी कुल ऋण २ अर्ब ५५ करोड रूपैयाँ रहेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड छ भने अन्य इक्विटी (जगेडा कोष समेत) ७ अर्ब ५५ करोड रुपैयाँ छ । यसले कम्पनीको पुँजीगत आधार मजबुत देखाउँछ । कम्पनीको जगेडा कोषको आकार चुक्तापुँजीको झन्डै ४ गुणा बढी अर्थात् ७।५५ अर्ब छ । यसले कम्पनी वित्तीय रूपमा निकै ‘परिपक्व’ देखिन्छ । सामान्यतया नेपालमा आईपीओ जारी गरेका कम्पनीहरूको वित्तीय विवरण कमजोर देखिने गरेकामा रिलायन्सले मजबुद विवरण प्रकाशन गरेको हो ।
















