कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् । खड्का निवास गोल्फुटारमा बिहान ११ बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म तीन नेताबिच कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए । ‘तीन नेताबिच भेट भयो । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको छ,’ बीसीले भने । विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए । सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे नेताहरूलाई जानकारी गराए ।

‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ,’ सभापतिसँग भएको कुराकानीबारे खड्काले भनेका थिए, ‘यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ। त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईँहरूको योजना र रणनीतिमा भर पर्छ ।’ खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको जानकारी गराएका थिए । ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । नेतृत्वले चाहन पर्‍यो,’ खड्काले बैठकमा भने, मैले उहाँलाई प्रस्ट भनेको छु— पार्टी एकता टुक्रा–टुक्रामा गरेर अर्थ छैन, यो सम्पूर्ण रूपमा हुनुपर्छ। एकता कसरी गर्ने भन्ने बल अब तपाईँहरूको कोर्टमा छ। तपाईँहरूले एकताको ठोस रोडम्याप र प्रस्ताव तयार पार्नुहोस्, त्यसपछि मात्रै थप छलफल गर्न सकिन्छ।’ सभापति थापाले हिजो बिहान कांग्रेस नेता डा.शेखर कोइरालालाई पनि भेटेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *