६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । चारपाङ्ग्रे विद्युतीय सवारीको व्यापार विस्तार तथा जेडटीई स्मार्टफोन वितरण व्यवसाय थपिएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले गत आर्थिक वर्ष २०८१।८२ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१६ प्रतिशत अर्थात् ३ अर्ब ७८ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०।८१ मा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९।८० मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आव २०७८।७९ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, आव २०७७।७८ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ तथा आव २०७६।७७ मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१० डिसेम्बर २७ मा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको कम्पनीलाई सन् २०१५ जुनमा पुनः नामकरण गरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड राखिएको हो । हाल कम्पनीको नेतृत्व शाहिल अग्रवालले गर्दै आएका छन् ।
जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक हो । कम्पनीले प्रोटोन कारहरूको समेत नेपालमा प्रतिनिधित्व तथा वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय चारपाङ्ग्रे सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले जेएमईभी र चेरी ब्रान्डका ईभी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यसले टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारी, गीली समूहअन्तर्गतको प्रोटोन होल्डिङ्सका कार, जेएमईभी तथा चेरी ब्रान्डका ईभी सवारी बिक्री वितरण गर्दै आएको छ । देशभरका प्रमुख सहरमा फैलिएको करिब १३४ डिलर सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । यद्यपि, नेपालको दुईपाङ्ग्रे सवारी बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेको कम्पनीको भनाइ छ । बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ ।
ती कम्पनीहरूले स्थानीय एसेम्बली सञ्चालन सुरु गरेपछि प्रतिस्पर्धा अझ तीव्र बनेको कम्पनीले जनाएको छ । आगामी दिनमा आम्दानी वृद्धि कायम राख्दै नाफा स्थिर राख्नु, कार्यशील पुँजी व्यवस्थापन सन्तुलनमा राख्नु तथा लाभांश र पुँजी संरचनाबीच उचित सन्तुलन कायम गर्नु कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेको बताइएको छ । कम्पनीको आम्दानीमा सुधार देखिए पनि सञ्चालन नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०।८१ मा १०.०२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्ष घटेर ७.०९ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो थप घट्दै ६.१० प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।
















