कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध गरेको छ । उनीहरूको भिसा शुल्क तथा जरिबाना मिनाहा गरी ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराइसक्दा पनि नफर्केपछि दूतावासले आइतबार एक सूचना जारी गर्दै तत्काल नेपाल फर्कन भनेको हो । तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिबानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ,” नेपाली दूतावासले भनेको छ । यसर्थ, सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी जेठ २९ गतेभित्र नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ ।

“उहाँहरूका परिवारजन तथा आफन्तजनहरूमा समेत यसै सूचनालाई आधारमानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,” दूतावासको सूचनामा भनिएको छ । विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकहरूले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नु पर्ने अवस्था रहेको दूतावासले जनाएको छ । विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिबाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरिएको दूतावासको भनाइ छ । तर, इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा आजसम्म ६६ नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको दूतावासले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *