वैभवी सापकोटालाई सिक्किममा स्वर्णसहित दुई पदक
काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतीय खेलाडीलाई फाइनलमा हराउँदै क्योरुगी विधातर्फ स्वर्ण पदक जितेकी छिन् । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ मा नेपालको लागि वैभवीले स्वर्ण र काँस्य गरी दुई पदक जित्न सफल भएकी हुन् । भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा भएको उक्त प्रतियोगितामा वैभवीले भारतीय खेलाडीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा शानदार जीत हासिल गरेकी हुन् ।
वैभवीले पुम्से विधातर्फ पनि तेस्रो हुँदै कास्य पदक जितेकी छिन् । १९ जना प्रतिष्पर्धी रहेको सो विधामा वैभवीले कास्य पदक जितेकी हुन् । सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गरेको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गरेकी थिइन् । जेठ २३ देखि शुरु भएको उक्त प्रतियोगितामा भारतका १० भन्दा बढी राज्यका खेलाडीलगायत विभिन्न देशका खेलाडीको सहभागिता रहको थियो ।
















