जबर्जस्ती धर्म परिवर्तनको कुरा उठाउँदा बलात्कार र ज्यान मार्ने धम्की आयो : ओली

काठमाण्डौं । राप्रपाकी सांसद खुश्बु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले ९० प्रतिशत सनातनी बस्ने देशमा उनीहरूको पक्षमा बोल्दा यस्तो धम्की आएको बताएकी हुन् । ‘९० प्रतिशत सनातनीहरू बस्ने देशमा नेपालको संविधानको धाराले सुनिश्चित गरेको छ । नेपाल सनातन हुनुपर्ने कुरा यो सदनमा उठाउँदा अहिलेसम्म ज्यान मार्ने, बलात्कार गर्ने धम्की, भौतिक आक्रामण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइएको छ,’ उनले भनिन्, ‘यो धम्की व्यक्तिगत रूपमा म सहन सक्छु । तर यो मलाई होइन यो सिंगो सनातन धर्ममाथि भएको प्रहार हो ।’ दशकौँदेखि नेपालमा बस्दै आएका इसाइमा समस्या नभए पनि जबर्जस्ती धर्म परिवर्तन गम्भीर समस्याको रूपमा रहेको उनको भनाइ छ ।

‘दशकौँदेखि नेपालमा सद्भावसहित बस्दै आएका इसाइले धर्म परिवर्तन कहिल्यै पनि गराउँदै हिँड्दैनन् । कसैले स्वेच्छाले गर्छ त्यो उसको अधिकारको कुरा हो,’ ओलीले भनिन्, ‘तर विदेशी मिसनरीबाट पाठ पढाइएका नक्कली इसाइहरू आँखा नेदेख्नेलाई देख्न सक्ने बनाउने, एचआईभी किटाणु मर्छन् । ह्वेलचेयर चढ्ने हिँड्छन् भनेर ढाँटेर हिँड्नेप्रति कुरा उठाएको हो । घर बनाइदिन्छौँ भनेर ढाँटेर गर्ने धर्मान्तरणको विषयमा मैले कुरा उठाएको थिएँ ।ु संविधानको धारा २६ (३) ले धर्म परिवर्तन निषेध गरेको भन्दै उनले अपराध संहिताले पनि दण्डनीय भनेर उल्लेख गरेको बताइन् । ‘अपराध संहिताले पनि जबर्जस्ती धर्म परिवर्तन भौतिक, आर्थिक प्रलोभन देखाएर गरिने धर्म परिवर्तनलाई दण्डनीय भनेको छ,’ उनले भनिन्, ‘गणतन्त्रले ल्याएको धर्मनिरपेक्षताको फल यही हो ?’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *