अपाचे आरटीआर १६० फोरभी नेपालमा
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टरसहितको पहिलो मोटरसाइकल भएको दाबी गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो । नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड रहेका छन् ।
कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै नयाँ मोडलले राइडरलाई अझ सुरक्षित, सहज र उत्कृष्ट राइडिङ अनुभव दिने बताए । नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ अपाचे आरटीआर १६० फोरभीमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेले राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने आगामी जुलाईभित्र देशभर बिक्रीका लागि उपलब्ध गराइनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरीन ब्लु गरी तीन रंगमा उपलब्ध मोटरसाइकलको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
















