चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण गर्नुका साथै साइबर सुरक्षा तथा डिजिटल ठगीविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ अन्तर्गत आयोजित कार्यक्रममा पहिलो सत्रमा सूचना प्रविधि विज्ञ नविन कार्कीले अनलाइन सुरक्षा र डिजिटल ठगीका बढ्दो जोखिमबारे जानकारी दिएका थिए। उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, फिसिङ, ओटिपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्यामलगायत पछिल्ला समयका डिजिटल ठगीका प्रवृत्तिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीसँग अन्तरक्रिया तथा प्रश्नोत्तर पनि गरिएको थियो भने उत्कृष्ट प्रश्न सोध्ने र सक्रिय सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो। “सोचेर क्लिक गरौं, ठगीबाट बचौं” भन्ने नारासहित सञ्चालन गरिएको यो सचेतना कार्यक्रम प्रभावकारी रहेको आयोजकले जनाएको छ। कार्यक्रमको दोस्रो सत्रमा संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताको सहयोगबाट सञ्चालित छात्रवृत्ति कोषमार्फत ६२ जना विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो। चन्द्रागिरि साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर, असहाय, अशक्त तथा जेहेन्दार विद्यार्थीलाई कक्षा ११–१२, स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट छात्रवृत्ति कोष निर्माण भई निरन्तर सञ्चालन भइरहेको जानकारी दिए। प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले छात्रवृत्ति कार्यक्रमको सुरुआती चरण स्मरण गर्दै दाताहरूको विश्वास र समर्पणप्रति आभार व्यक्त गरे। उनले प्राप्त छात्रवृत्तिको सदुपयोग गर्दै उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई आग्रह गरे। विशेष अतिथि तथा चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद भट्टले शिक्षामा गरिएको लगानी नै राष्ट्रको भविष्यमा गरिएको लगानी भएको उल्लेख गर्दै वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरतामा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले पनि शिक्षा र साइबर सुरक्षा सचेतनाको महत्वबारे धारणा राखेका थिए। संस्थाका अध्यक्ष शिवशंकर मानान्धरले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक विकास र समुदायको उत्थानमा समेत सक्रिय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा शिक्षा उपसमिति सदस्य ललिता कार्कीले स्वागत मन्तव्य तथा सञ्चालक सदस्य इन्द्रबहादुर महर्जनले धन्यवाद ज्ञापन गरेका थिए। चन्द्रागिरि नगरपालिका, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी, सहकारी अभियन्ता तथा समाजका प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहेको कार्यक्रममा शिक्षा, डिजिटल सुरक्षा र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै सुरक्षित र सचेत समाज निर्माणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
















