एकअर्काविरुद्धको आक्रमण रोक्न अमेरिका र इरान सहमत

काठमाडौं । अमेरिका र इरान एकअर्काविरुद्ध आक्रमण रोक्न सहमत भएका छन् । यी दुई देशबीच पछिल्ला दिनहरूमा जारी हवाई हमलापछि दुवै देश सैन्य कारबाही रोक्न र प्राविधिक वार्तालाई पुनः अघि बढाउन सहमत भएका हुन् । एक अमेरिकी अधिकारीका अनुसार दुवै पक्षले हालका लागि सैन्य गतिविधि सीमित गर्दै होर्मुज जलमार्ग र आसपासका समुद्री मार्गमा व्यापारिक जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्न आवश्यक कदम चाल्न सहमति गरेका छन् । अधिकारीले दुई देशबीच भएका समझदारीका सबै विषयमा प्राविधिक स्तरको संवादलाई निरन्तरता दिइने जानकारी पनि दिएका छन् । तनाव कम गर्ने उद्देश्यका साथ अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच जुन ३० मा कतारको राजधानी दोहामा उच्चस्तरीय बैठक बस्ने तय भएको छ । अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार प्रारम्भिक रूपमा यो बैठक स्विट्जरल्यान्डमा आयोजना गर्ने योजना थियो र त्यसको मुख्य एजेन्डा इरानको परमाणु कार्यक्रम थियो ।

तर, पछिल्ला सैन्य घटनाक्रमपछि बैठकको स्थान परिवर्तन गरेर दोहा तय गरिएको जनाइएको छ । दुवै देशबीच गत जुन १७ मा अन्तरिम शान्ति सम्झौता भएको थियो । तर, जुन २७ र २८ मा भएका नयाँ आक्रमणहरूले उक्त सम्झौतालाई पुनः संकटमा पुर्‍याएका थिए । अप्रिलमा युद्धविराम घोषणा गरिए पनि त्यसयता भएका छिटफुट आक्रमणका कारण हर्मुज जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन प्रभावित भएको थियो । आइतबार अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक जहाजमाथि भएका आक्रमणको जवाफस्वरूप इरानका १० वटा सैन्य अखडामाथि हवाई हमला गरेको जनाएको थियो । त्यसपछि दुवै पक्ष वार्तामा फर्किन सहमत भएका हुन् । दोहामा हुने वार्तालाई पछिल्ला तनाव कम गर्ने तथा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *