कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिरहनुपर्ने हो ? – सांसद थापा

नेपाली कांग्रेसकी सांसद बासना थापाले कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुका बारेमा पाँच दिनसम्म पनि राज्य संयन्त्रबाट एकिन तथ्यांक नआउनु विडम्बना भएको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै थापाले भनिन्, ‘यो दुर्घटना हाम्रा लागि कुनै नौलो घटना होइन, दिनहुँजस्तो कर्णालीका सडकमा रगत बगिरहेको छ । कर्णालीका सडकहरू आज सडक रहेनन्, ती मृत्युमार्गजस्तो देखिएका छन् ।

अब कहिलेसम्म कर्णालीले यस्तो नियती भोग्नुपर्ने हो ? प्रत्येक पाइलामा नागरिकले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने हामी कस्तो राज्यमा छौँ ?’ उनले राजधानीका सुविधा सम्पन्न होटलमा बसेर कर्णालीलाई तारिफ नचाहिने बताइन् । ‘कर्णालीका सडकमा नियमन गर्ने निकाय छैन, दुर्घटनाबाट उद्धार गर्ने उपकरण छैन । हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौं । प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर स्वर्गकी रानी, कर्णालीका सुइना भनेर सम्बोधन गर्नुभयो । म यहाँ उभिएर सोध्न चाहन्छु– के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिरहनुपर्ने हो ?’ सांसद थापाले कर्णालीलाई मृत्युमार्ग नभई सुरक्षित सडक चाहिएको जिकिर गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *