मौद्रिक नीति स्वागतयोग्य, वित्तीय प्रणालीलाई सकारात्मक सन्देश : सिबिफिन
काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित कार्यदिशा लिएको भन्दै स्वागत गरेको छ। प्रेस विज्ञप्तिमा सिबिफिनले परम्परागत नीतिगत ढाँचामा सुधार गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न व्यवस्था समेटिएको उल्लेख गरेको छ। परिसंघका अनुसार मौद्रिक नीतिले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिबिफिनले रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा यथावत् राख्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
त्यस्तै, बैंक शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाउने, बैंकिङ सेवाको डिजिटलाइजेसनमार्फत सञ्चालन खर्च घटाउन प्रोत्साहन गर्ने, विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापन सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने तथा स्टेरिलाइज्ड इन्टरभेन्सनको व्यवस्था दूरदर्शी कदम भएको सिबिफिनको धारणा छ। यद्यपि, जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पूँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारसम्बन्धी आफूहरूले दिएका सुझाव यसपटक समावेश हुन नसकेको सिबिफिनले जनाएको छ। परिसंघले नेपाल राष्ट्र बैंकले ती सुझावमाथि आवश्यक अध्ययन गरी आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ। सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
















