अमेरिका–साउदी ऐतिहासिक परमाणु सम्झौता

संयुक्त राज्य अमेरिका र साउदी अरबले एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले खाडी क्षेत्रको यो देशलाई आफ्नै नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्न मार्ग खोलिदिएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण परमाणु सहयोग सम्झौता’ हो । यसअन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रममा ठूलो पहुँच र काम गर्ने अवसर प्रदान गर्ने बीबीसीले उल्लेख गरेको छ । सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । तर, अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार भविष्यमा यस सम्झौताअन्तर्गत साउदी अरबलाई युरेनियम संवर्द्धन गर्ने अनुमति दिन सकिने सम्भावना छ । संवर्द्धित युरेनियम परमाणु विद्युत् केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गरिन्छ । तर, यही प्रविधि परमाणु बम निर्माणका लागि पनि प्रयोग गर्न सकिन्छ ।

विशेषज्ञहरूका अनुसार यदि यस्तो अनुमति दिइयो भने यो अमेरिकाको इतिहासमै पहिलो घटना हुनेछ । यसले पहिलेदेखि नै अस्थिर रहेको पश्चिम एसियामा परमाणु हतियारको प्रसारको जोखिम थप बढाउन सक्छ । अमेरिकी ऊर्जा विभागले आणविक सहयोग सम्झौताका साथै द्विपक्षीय सुरक्षा उपायसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरिएको जनाएको छ । विभागले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यी दुई सम्झौताले मिलेर दशकौँसम्म चल्ने, अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गरेका छन्, जसले परमाणु अप्रसारसहित धेरै आर्थिक र रणनीतिक प्राथमिक उद्देश्यलाई अघि बढाउँछ ।’ साउदी सरकारले पनि वक्तव्य जारी गर्दै यो सम्झौता ऊर्जा क्षेत्रमा दुई देशबीच पहिलेबाट रहेको सहकार्यको विस्तार भएको जनाएको छ । साथै, गत नोभेम्बरमा साउदी नेताले वासिङ्टन भ्रमण गरेपछि यो सम्झौता भएको उल्लेख गरिएको छ । यो घोषणा अमेरिका र इरानबीचको द्वन्द्व चर्किँदै गएको समयमा आएको हो । लामो समयदेखि अमेरिकाको निकट सहयोगी रहेको साउदी अरबमा अमेरिकाका थुप्रै सैन्य आधारहरू रहेका छन्, जसलाई इरानी आक्रमणको निसाना बनाइएको छ । यो घोषणा इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेको दुई दिनपछि आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *