७७ जिल्ला र ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सुचारु

काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ प्रणालीबाट राहदानी विभाग, ७७ वटै जिल्ला, ६ वटा इलाका प्रशासन कार्यालय र ३१ विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी आवेदन सेवा सुचारु भएको जनाएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो जानकारी दिएका हुन् । “हाल राहदानी विभाग, सबै ७७ वटै जिल्ला र ६ वटा इलाका प्रशासन कार्यालयहरू र ३१ विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी आवेदन सेवा सुचारु गरिएको छ । आठवटा नियोगहरूबाट कुनै पनि बेला इनरोलमेन्ट गर्न सकिने गरी व्यवस्था छ,” उनले भने, “नयाँ प्रणालीबाट हालसम्म आठ हजार २६० राहदानी छापिइसकेको छ ।”

नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको उनले बताए । २०८३ असार २९ बाट नयाँ प्रणालीमार्फत आवेदन लिई राहदानी जारी गर्ने कार्य सुचारु भएको उनले जानकारी दिए । “हाल स्टेविलाइजेसन पिरियड चलिरहेको अवस्थामा देखिएका प्राविधिक समस्याहरू अपेक्षित नै हुन्,” प्रवक्ता क्षेत्रीले भने, “तीनको समाधान गर्ने कार्य सम्बन्धित प्राविधिक टोलीबाट भइरहेकोले राहदानी सेवा पूर्ववत सहज हुने अपेक्षा गरिएको छ ।” छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता सम्पन्न भएको उनले जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *