डिजिटल प्रतिभा विकासमा सामसङको जोड
सामसङ नेपालले डिजिटल सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले कार्यक्रम पूरा गरेका विद्यार्थीलाई सम्मान गर्नुका साथै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको हो। गत डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्समा सहभागी विद्यार्थीलाई प्राविधिक सीपसँगै व्यावहारिक परियोजनामा काम गर्ने अवसर, उद्योगसँगको प्रत्यक्ष परिचय तथा करियर मार्गदर्शन प्रदान गरिएको सामसङले जनाएको छ। सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालका युवामा रहेको प्राविधिक क्षमता अझ विकसित गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरका उद्योगमा तीव्र परिवर्तन ल्याइरहेको उल्लेख गर्दै भविष्यको डिजिटल अर्थतन्त्रका लागि आवश्यक जनशक्ति तयार पार्न सामसङ इनोभेसन क्याम्पसले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। सामसङको विश्वव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम “टुगेदर फर टुमरो ! इनेबलिङ पिपल” अन्तर्गत सन् २०२३ देखि नेपालमा सञ्चालन हुँदै आएको सामसङ इनोभेसन क्याम्पसले कोडिङ, प्रोग्रामिङ, सञ्चार, सहकार्य तथा आलोचनात्मक सोचजस्ता कार्यस्थलमा आवश्यक सीप विकासमा केन्द्रित प्रशिक्षण प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम व्यावहारिक सिकाइ र वास्तविक समस्याको समाधानमा आधारित हुनेछ। यसले सहभागीलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी सीप विकास गर्दै डिजिटल क्षेत्रमा बढ्दो रोजगारीका अवसरका लागि तयार पार्ने लक्ष्य राखेको छ। सामसङले कार्यक्रम सम्पन्न गरेका विद्यार्थीलाई भविष्यमा पनि उद्योग विशेषज्ञ तथा आफ्ना कर्मचारीमार्फत मेन्टोरिङ, नवप्रवर्तन परियोजना र करियर मार्गदर्शन उपलब्ध गराउने जनाएको छ। साथै, पूर्वविद्यार्थीबीच निरन्तर सहकार्य, अनुभव आदानप्रदान र नयाँ सहभागीलाई मार्गदर्शन गर्ने उद्देश्यले ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने तयारी पनि गरेको छ। कम्पनीले नेपालको एआई इकोसिस्टम विकास, डिजिटल रोजगारी विस्तार तथा डिजिटल रूपान्तरणलाई तीव्र बनाउन शिक्षा क्षेत्र, निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















