बालेनले सचिवालयका कुमार र असिमलाई दिए मन्त्रीसरहको सुविधा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले आफ्नो सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार साहले दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री सरहको सेवा,सुविधा पाउने गरी नियुक्ति दिएका हुन् । मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री सरहको सुविधा पाइरहेका छन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ । यसका अतिरिक्त, एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त गरिएको छ । प्रधानमन्त्री साहले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारे पनि आफ्नै सचिवालयमा भने मन्त्री र राज्यमन्त्री सरहका चार जना सल्लाहकार राखेका छन् ।

२०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सुशासनको नारासहित बनेको सरकारले पारदर्शिता नदेखाएको भन्दै आलोचना सुरु भएको छ । प्रधानमन्त्री सचिवालयमा ४८ जनासम्म राख्न पाउने व्यवस्था छ । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ६६ जनासम्म राखेका थिए भने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सुरुमा २० जना नियुक्त गरे पनि विरोधपछि त्यसलाई ६ जनामा झारेकी थिइन् । प्रधानमन्त्री कार्यालयले अन्य मन्त्रालयका सल्लाहकारहरूको संख्याबारे पनि जानकारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बढीमा ५ जनासम्म सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ । अन्य मन्त्रीहरूले भने बढीमा ३ जना सल्लाहकार र ९ जनासम्मको स्वकीय सचिवालय टोली राख्न पाउने दरबन्दी तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *