लोकतन्त्रको हत्या गर्ने गरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने छ : श्रेष्ठ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दाबी गरेका हुन् । श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गरे । नेपालले भारतको भूमि मिचेको भनी संसदमा दिइएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन गरेको र त्यसलाई पुष्टि गर्न खोजेको भन्दै उनले आपत्ति जनाए । नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहित विपरीत र समाजलाई विभाजित गर्ने काम नभएको उनको भनाइ छ । संविधान र लोकतन्त्रको रक्षाका सम्बन्धमा बोल्दै नेता श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाए । संविधान संशोधनको विषयमा टिप्पणी गर्दै उनले संविधानको मूल मर्म र लोकतन्त्रको रक्षालाई केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । लोकतन्त्रको हत्या गर्ने गरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने उनको तर्क छ । नेता श्रेष्ठले सरकारले वाक् तथा सङ्गठन स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको बताए ।
शैक्षिक र प्राज्ञिक संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्ने बहानामा विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै उनले विरोध जनाए । सरकारले एकातिर दलीयकरण मुक्त भन्ने तर अर्कोतिर आफ्ना पक्षका व्यक्तिहरूलाई महत्त्वपूर्ण संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको उनको आरोप छ । नेता श्रेष्ठले भने, ‘रास्वपाको नेतृत्वमा सरकार अघि बढिरहेको वर्तमान अवस्थाले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र श्रमजीवी वर्गका अधिकारमाथि गम्भीर चुनौती सिर्जना गरेको देखिन्छ । राष्ट्रिय हितका विषयमा भ्रम फैलाउने, संविधानको समाजवाद उन्मुख मूल भावना विपरीत नीति अघि सार्ने तथा संविधान संशोधनको नाममा यसको आधारभूत मर्म कमजोर बनाउने प्रयास भइरहेको आरोप छ । त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी सङ्गठन र ट्रेड युनियनमाथि नियन्त्रण गर्ने प्रवृत्ति बढेको तथा सानो आलोचनामै मुद्दा र पक्राउको अभ्यास देखिएको छ। सुकुमबासीमाथि गरिएको बलपूर्वक हटाउने कार्य र अमानवीय व्यवहारप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त भइरहेको छ ।’ सुकुमबासी समस्याका सन्दर्भमा बोल्दै श्रेष्ठले सरकारको कार्यशैली अमानवीय भएको बताए । डोजर र सुरक्षाकर्मीको प्रयोग गरी सुकुमबासीहरूलाई रातारात उठाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित गरिएको र उनीहरूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले सरकारको आलोचना गरे । नेता श्रेष्ठले श्रमजीवी र उत्पीडित वर्गमाथि अन्याय हुँदा कम्युनिस्ट पार्टी र तिनका भ्रातृ सङ्गठनहरूले सशक्त प्रतिरोध गर्न नसक्नुमा वैचारिक र सांस्कृतिक स्खलन मुख्य कारण रहेको बताए । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आइलागेको सङ्कट टार्न कम्युनिस्टहरूले आफूलाई सुधार गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
















