‘गौंथली’ले कमायो साढे ७ करोड
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको गतसाताको कमाइ विवरण सार्वजनिक गरेको छ । आइतबार मध्यरात १२ बजेसम्मको कमाइ हेर्दा ‘गौंथली’को कमाइ आक्रामक देखिन्छ । प्रदर्शनको १० दिनसम्म कपिल रिजाल निर्देशित सोसल ड्रामाको कमाइ ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई २ लाख ६० हजार २५४ जनाले हेरेका छन् । दोस्रो शनिबार फिल्मको कलेक्सन डेढ करोड हाराहारीमा थियो । आइतबार र शनिबारको सार्वजनिक बिदामा फिल्मको कलेक्सनमा उछाल देखियो । यो गति कायम रहे सुमन गिरीले निर्माण गरेको फिल्मलाई १० करोडको आँकडा छुन कठिन छैन । सोही अवधिसम्म अर्को फिल्म ‘रोल नं १’ ले देशब्यापी १ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । अर्को फिल्म ‘भागदौड’ले १ लाख रुपैयाँ ग्रस कमाएको छ ।

















