झडपका कारण विराटनगरका विद्यालय बन्द
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ । आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् । सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार विद्यालय खुलेनन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतःस्फूर्त रूपमा बन्द भएका हुन् । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार स्कुल बस सञ्चालनमा अवरोध गर्ने कुरा आएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन् । ‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय त गरेको छैन, तर बिहानैदेखि स्कुल र कलेजहरू खुलेनन्,’ ढुंगेलले भने, ‘स्कुल बस चल्न नदिने स्थिति भएपछि विद्यालयहरू बन्द भए ।’
देवानगन्ज र हरिनगर गाउँपालिकामा बिदा
कप्तानगञ्ज घटनाको विरोधमा सुनसरीका दक्षिणी क्षेत्रहरूमा पनि त्रास कायम छ । घटनाको शोकमा देवानगन्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द छन् । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

















