मदिरा पिएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : सांसद शाही
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले आफूमाथि मदिरा पिएर जथाभाबी बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भनी लगाइएका आरोपबारे खण्डन गरेका हुन् । सांसद शाहीले संसद्मा स्वास्थ्यकर्मी र चिकित्सकको टोली बोलाएर आफ्नो रगत र शरीरको प्रत्येक अङ्ग जाँच गर्न चुनौती दिए । ‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ शाहीले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने ? यसको जवाफ गृहमन्त्रीसँग माग्छु ।’
सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएकोमा उनले आक्रोश व्यक्त गरे । ‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो, यसले मेरो परिवार, श्रीमती र छोरीको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा कसैले सोचेको छ,’ शाहीले प्रश्न गरे । उनले यस्ता साइबर बुलिङका घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी र सरकार किन मौन रहेको भन्दै प्रश्न उठाए । सांसद शाहीले आफूले कणालीका दुई दलित परिवारको मृत्यु र अन्य जनजीविकाका सवालमा आवाज उठाएका कारण आफूमाथि यस्ता योजनाबद्ध आक्रमणहरू भएको दाबी गरे । ‘मैले कणालीको पीडा उठाउँदा सरकारले त्यसको उत्तर दिनुको साटो मेरो चरित्र हत्या गरेर मलाई चुप लगाउन खोज्यो,’ उनले भने, ‘तर मेरो ज्यान गए पनि, राजनीतिक जीवन समाप्त भए पनि कणाली र पीडित जनताको आवाज उठाइरहनेछु ।’
















