बैंकिङ कारोबारमा कुनै असर पर्दैन : एनआईएमबी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध दायर भएको मुद्दाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले प्रचलित कानुन, नियामक निकायको व्यवस्था र बैंकिङ मान्यता अनुसार गरिएका नियमित काम कारवाहीको विषयलाई लिएर मुद्दा दायर भएको स्पष्ट पारेको छ । बैंकले बजारमा व्याप्त हुनसक्ने भ्रमलाई चिर्न र निक्षेपकर्ताको सुरक्षाप्रति बैंक प्रतिबद्ध रहेको सन्देश विज्ञप्तिमार्फत दिएको छ ।
बैंकले यस कानुनी प्रक्रियाबाट बैंकको दैनिक कार्यसम्पादन र सेवामा कुनै असर नपर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना भएको छैन । बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रही संस्थाको सबलता र ग्राहकको हितलाई केन्द्रमा राखी सम्पूर्ण सेवाहरू पूर्ववत् रूपमा सुरक्षित र निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।’ बैंकले पछिल्लो समयमा आएका विभिन्न अपुष्ट सूचना र अनुमानका आधारमा धारणा नबनाउन सरोकारवालाहरूलाई आग्रह गरेको छ । आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दै बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायहरूबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी तथा सरोकारवालाहरूबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गरेको छ । बैंकले आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ ।

















