भारतीय सेना प्रमुख धिरज सेठ आज नेपाल आउँदै
काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार अपराह्न काठमाडौं आउँदै छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । “भारतीय सेना प्रमुख आज (आइतबार) काठमाडौं आउँदै हुनुहुन्छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने । सैनिक प्रवक्ता बस्नेतका अनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमणको दुई उदेश्य रहेका छन् ।
एउटा, मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने र अर्को, नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई प्रगाढ बनाउने । सैनिक प्रवक्ता बस्नेतका अनुसार सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । सोमबार नै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
















