भाटभटेनीको भक्तपुर स्टोर भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने

काठमाडौं । भाटभटेनीको भक्तपुर स्टोर भोलिदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा खोल्ने निर्णय भएको बताए । “बुधबार रातिदेखि हामीले परीक्षण गर्‍यौँ,” उनले भने, “भोलिदेखि हामीले चौबीसै घण्टा खोल्ने योजना बनाएका हौँ ।” विश्वमा यस्ता स्टोरहरु चौबीसै घण्टा खुल्ने बताउँदै गुरुङले भाटभटेनी पनि सोहीअनुसार सञ्चालनको तयारी गरिएको बताए । अध्यक्ष गुरुङले भने–भोलिदेखि भक्तपुर स्टोर्स चौबीसै घण्टा खुल्नेछ, यसले ग्राहकका लागि सहज हुनेछ । हामीले पनि त्यहाँ पाइलट प्रोजेक्टका रुपमा हेरेर अन्य स्टोर्सहरुलाई पनि त्यहीअनुसार अघि बढाउनेछौँ ।

बुधबारदेखि नै परीक्षण गरिएको र सफल भएको बताउँदै उनले भोलिदेखि औपचारिकरुपबाटै खुल्ने बताए । अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि चौबीसै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ । अहिले बिहानमात्र सामान राख्ने, मिलाउने, कमी भएको ठाउँमा थप्नेलगायतका व्यवस्थापकीय कामले ग्राहकलाई केही अप्ठेरो परेको महसुस हामीलाई भयो । हामीले अब ती सबै काम रातभरमा सकेर ग्राहकलाई कुनै अप्ठेरो नहुने योजना बनाएका हौँ, अध्यक्ष गुरुङले भने । अध्यक्ष मीनबहादुर गुरुङका अनुसार राति काम गर्ने कर्मचारीले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । उनले भक्तपुरबाट सुरु भएको यो सेवा देशभरका स्टोरमा पुर्‍याउने लक्ष्य राखिएको छ । भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् । अहिले बिहानदेखि बेलुकासम्म मात्रै खुला राख्दा ट्राफिक व्यवस्थापनको पनि समस्या भोग्नुपरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *